१९९६ को अगष्टको त्यो शुक्रबार
ओ हो हेर्दा हेर्दै रेडियोमा पहिलो चोटी बोलेको पनि आज ठ्याकै २० वर्ष पुगेछ। १९९६ को अगष्टमा शुरु भएको त्यो यात्रा अब शरिरमा साँस भए सम्म निरन्तर चलि रहने छ। शुक्रबारको दिन थियो, बिहान को १० बजे देखि ११ बजे सम्म ‘ चार्टबस्टर’ भन्ने हिन्दि गीतहरु को कार्यक्रम थियो। बिहान ७ बजे नै अफिस पुगेको थिए। त्यति बेला काठमाडौँमा मात्रै होइन देश भरि त्यहि एउटा मात्रै एफ एम स्टेशन थियो। सबै एफ एम हरु ‘रेडियो नेपाल’ को १०० मेगाहर्ज मा प्रसारण हुने गर्थ्यो। प्रसारण गर्न को लागि सिंहदरबार भित्र रहेको रेडियो नेपालको स्टुडियो जान पर्थ्यो। बिहान ७ बजे पुगेर अघिल्लो दिन नै मिलाएर राखी सकेको cd को ब्याग फेरि चेक गरे। बजाउनु पर्ने गीत हरु को सबै cd हरु छ कि छैन भनेर, क्युशिट (cueshet) संग भिडाएर हेरे। शायद त्यो मेरो संयौ चेक थियो होला। करिब साढे आठ बजे तिर हामी राजु दाइ को गाडी मा स्टुडियो तिर लाग्यौ। सुनिता, रिता दिदि, म र सत्या दिदि । रेडियो नेपालको स्टुडियो त्यो भन्दा पहिला पनि गएको थियो तर आज फरक थियो। अरु बेला अरुले बोलेको हेर्न गईन्थ्यो तर त्यो दिन आफै बोल्न लागेको थिए। भ्वाइस टेस्ट पनि त्यहि दिएको, पहिलो चोटी फेल भएको थिए भ्वाइस टेस्टमा। गाडी नया बानेश्वर बाट माइतीघर तिर हुइकिदै थियो, अरु हरु कुराकानी गर्दै थिए म भने बिस्तारै स्क्रिप्ट निकालेर पढी रहेको थिए। त्यो स्क्रिप्ट मैले झन्डै एक महिना अघि लेखेको थिये। लेखिएका कुरा हरु मात्रै होइन, त्यो पानाहरुमा कति वोटा लाइन हरु थिए त्यो पनि कन्ठै थियो। झन्डै ३-४ महिना को सार्है गार्हो, झ्याउ लाग्ने अनि दिक्क लाग्दो ट्रेनिंग रुपी तपस्या पछि रेडियोमा बोल्ने फल पाउन लागेको थिए। त्यति खेर सिंहदरबार छिर्न एउटा मात्रै गेट थियो। भद्रकाली अगाडिको मुख्य गेट। त्यहाँ छिर्न निकै कडाई गरिन्थ्यो, २४ सै घण्टा गार्ड बस्ने सैनिक हरु ले पास चेक गरे पछि मात्रै भित्र जना दिन्थ्यो। मेरो पनि आफ्नै नाममा पास थियो, त्यो पास हेरेर आफै मक्ख पर्थे। तर अस्थाई थियो, त्यो पास।
रेडियो नेपाल पुगेर गाडी बाट ओर्लने बित्तिकै कुदेर टोइलेट पुगेको थियो, छिन् छिन मा पिसाब आएको जस्तो हुन्थ्यो तर आउन चाही आउदैन थियो। स्टुडियो भित्र छिर्दा मणि – द म्यान विथ द म्युजिक समय भन्दै थियो। बिहान को ९ बजेर ३० मिनेट। प्रकाश दाइ बाहिर कन्सोलमा थिए। कार्यक्रम थियो Fender Bender, १० बजे सम्म आउने यो कार्यक्रम आधा सकिएको थियो। म भने अलमल गर्दै थिए। कहिले cd चेक गर्थे, कहिले cuesheet हेर्थे, फेरि स्क्रिप्ट पनि पढी हेर्थे तर कुनै कुरा राम्रो संग गर्न सक्दिन थिए, एकछिन मा कुदेर टोइलेट पुग्थे।
त्यति बेला स्टुडियो भित्र ३ वटा फोनहरु थिए। दुइटा स्रोताहरु को लागि अनि एउटा चाही अफिसियल प्रयोगको लागि। ति फोन नम्बरहरु अहिले सम्म कन्ठै छ २४१९२५ अनि २४१९२६ बाहिर को लागि र भित्र को चाही २४१९२४। त्यहि भित्र को, बाहिर नम्बर थाहा नभएको फोनमा घन्टी बज्यो। कसले उठायो थाहा भएन तर फोन मलाई दिईयो,
हेल्लो – बिस्तारै बोले
दिपेश म सनि दाइ, उता बाट आवाज आयो (सनी श्रेष्ठ, हिट्स एफ एम को म्यानेजिंग डाईरेक्टर)
हजुर दाई
गुड लक भन्न फोन गरेको, सबै काठमाडौँ भरि तिम्रो अवाज सुन्छ – राम्रो संग गर लम्फु
त्यसपछि भने मेरो कानमा केहि छिरेन, खाली काठमाडौँ भरिको मान्छे ले मेरो आवाज सुन्छ मात्रै गुन्जी रह्यो।
मुटु को धड्कन बढ्न थाल्यो।
त्यतिकै मा सुनिताले सोध्यो ‘ नर्भस भा हो ?
छैन, मुख बाट फुत्त निस्कियो तर सायद अनुहारमा अर्कै भाव थियो।
त्यतिकै म मणि भित्र बाट बिदा माग्न थाले, अन्त मा उनले भने अब हाम्रो अर्को कार्यक्रम चार्टबस्टर हाम्रो ब्रान्ड न्यु होस्ट ‘ दिपेश’ को साथमा सुन्नु होला।
उनको मुख बाट मेरो नाम सुने पछि मेरो मुटु यस्तो गति मा धड्कन थाल्यो कि त्यस्तो गतिमा त उशान बोल्ट पनि कुददैन होला।
cuesheet र cd को ब्याग सुनितालाई दिए, उ भने कन्सोल सम्भाल्न तिर लागे। म चाही भित्र छिरे।
सानो कोठा, बिच मा टेबल। टेबलको अगाडी भित्तामा ठुलो ऐना, बाहिर कन्सोल प्रस्टै देखिने। टेबलको यता दुइटा कुर्सि, एउटामा मा बसे। शिलिंग बाट झुन्डिएको ठुलो माइक्रोफोन। टेबल को बिच मा बत्ति ‘ हरियो बले’ तयार अनि ‘रातो बले’ बोल्न पर्ने’, त्यहि टेबलको दाहिने छेउ तिर फेडर (स्विच जस्तै) अन गरेर बोल्न पर्ने अनि नबोल्दा अफ गर्न पर्ने।
मैले शुरु मा बोल्ने स्क्रिप्ट करिब ४५ सेकेन्ड लामो थियो। त्यस पछिको पहिलो गीत थियो, अलि हैदर को पुरानी जिन्स। जति डर लागे पनि मन दह्रो पारेर बसे, कान मा हेडफोन लगाए, अनि त्यो बत्तिलाइ घोरिएर हेरी रहे । हरियो बत्ति पिलिक पिलिक बल्यो, बिस्तारै फेडर अन गरे। साँस बढी रहेको थियो। रातो बत्ति टक्क बल्यो। आँखा बन्द गरेर बोल्न थाले। ४५ सेकेन्ड बोल्न पर्ने तर ३० सेकेन्ड बोले पछि रोकिए, बोल्नै सकिन। बाहिर बाट सुनिताले गीत बजाई दियो। आँखा खोले प्रकाश दाई फेडर अफ गर्न इशारा गर्दै हुनु हुन्थ्यो। फेडर अफ गर्ने बित्तिकै talk back mic बाट प्रकाश दाईको आवाज आयो ‘ के भयो? किन पुरा नबोलेको ?
दाई म यो गर्न सक्दिन, म बाहिर निस्कन्छु ‘ मेरो उत्तर
दिपेश, धेरै नर्भस हुन पर्दैन, तिम्रो स्वर राम्रो सुनेको छ।
‘होइन दाई , म सक्दै सक्दिन’। आटनै थिएन रेडियो मा बोल्ने
ठिकै छ, आज को कार्यक्रम चाही सकाउ अनि अर्को हफ्ता देखि नगर। प्रकाश दाइले त्यति भने पछि फेरि बोल्न लागे। छातीमा झुन्डेको त्यो अस्थाई पास कहिले थाई नहुने भयो भनेर सोचे।
२० वर्ष पहिले त्यसरी शुरु भएको रेडियो यात्रा चार्ट बस्टर, नौलो सौगात, स्योरशट, हिट्स काउनट्डाउन, झझल्को हुदै चलि रहयो। अझ सम्म बिस्तारै चल्दै छ। सानो देखि मेरो पाइलट बन्ने सपना थियो तर कसरि रेडियो मा पुगे त्यो आफैलाई थाहा छैन। रेडियोमा चाही मलाई मेरो दिदि क्षितिजाले लगेकी हुन्। रेडियो मा काम गरे पछि धेरै नया साथीहरु बने , साथी हरु मात्रै होइन कुभलो चिताउनेहरु पनि बर्गेलती बढे।
रेडियोले मलाई धेरै कुरा सिकायो, सबै भन्दा ठुलो चाही ‘लेख्न सिकायो’ .
त्यहि लेखनलाई अघि बढाउदै अस्ट्रेलिया आएर चलचित्र लेखन पढ्न पुगे। पछि चलचित्र निर्देशन पनि पढे। अब चलचित्र बनाउने सपना पुरा गर्नु छ।
२० वर्ष अघि त्यसरी शुरु भएको यो यात्राको यादहरु मैले पहिलो चोटी रेडियोमा बजाएको ‘पुरानो जिन्स’ जस्तै संधै प्यारो हुनेछ।